काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सानिमा माइ हाइड्रोपावरले २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०९ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा समेत गिरावट आएको छ । समीक्षा अवधिसम्ममा कम्पनीको ईपीएस ८ रुपैयाँ ९५ पैसा घटेर २३ रुपैयाँ ७८ पैसामा कायम भएको छ ।
यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा २०.८१ प्रतिशतले कमी आएको छ भने कुल नाफा २२.३७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन मुनाफा २६.६९ प्रतिशत र वित्तीय खर्च १८३.८३ प्रतिशतले गिरावट आएको हो ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा रहेको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ ।


































