काठमाडौँ । यस साता सुनको मूल्यले एक पछि अर्को रेकर्ड कायम गरेको छ । यस साता सुनको मूल्यमा दैनिक वृद्धि भएको हो । आइतबार हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको दोस्रो दिन सोमबार पनि पुनः रेकर्ड राख्दै प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
सातामा लगातार चार दिन लगातार मूल्यवृद्धि भएको सुनको मूल्य बिहीबार भने सामान्य घटेको हो। साताको अन्तिम शुक्रवार सुन स्थिर रहेर प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको हो । साताको पहिलो दिनको तुलनामा शुक्रवार सुन तोलामा एक हजार रुपैयाँ बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबारका दिन शुक्रवार प्रतितोला दुई हजार ६० रुपैयाँ कायम भएको छ। यसरी, यो साता चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै पछिल्लो केहि समययता सुनको भाउ बढिरहेको छ । यससँगै, रसियाले अगाडि सारेको ब्रिक्स मुलुकहरूले छुट्टै मेटल एक्स्चेञ्ज स्थापना गर्ने प्रस्तावका कारण सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मूल्य वृद्धिमा टेवा पुगेको विश्लेषकहरूको भनाई छ ।


































