काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तहका लागि नयाँ शुल्क तोकेको छ। डीनको कार्यालयले सूचना जारी गरेर चार लाख ९० हजार रुपैयाँ शुल्क तोकिएको उल्लेख गरेको छ। यसअघि तीन लाख १८ हजार रुपैयाँ शुल्क थियो।
विद्यार्थी संघसंगठनहरूले विरोध गरेपछि संस्थानले यसअघि तोकिएको शुल्क कार्यान्वयन गर्न सकेको थिएन।
भदौ २५ मै प्रवेश परीक्षा गर्नुपर्ने भएपनी, शुल्क विवादकै कारण प्रवेश परीक्षा हुन सकेको थिएन। उक्त प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने डीन कार्यलयले जनाएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ गतेको निर्णयअनुसार ४ वर्षे बिई र बिआर्च तहका लागि धरौटीसहित नियमिततर्फ ५६ हजार ७ सय, पूर्ण शुल्किय तर्फ चार लाख ९० हजार र विदेशी विद्यार्थीका हकमा १३ लाख १३ हजार पाँच सय शुल्क कायम गरिएको हो।
यसअघि प्रवेश परीक्षा आवेदन फारम भर्न छुटेकाले असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइनबाट प्रवेश परीक्षा फारम भर्न सक्नेछन्।
डीन कार्यलयका अनुसार प्रवेश परीक्षासम्बन्धी विस्तृत जानकारी आइतबार अपराह्न ५ बजे परीक्षा बोर्डको वेबसाइट https://entrance.ioe.edu.np मा हेर्न सकिने छ।



































