काठमाडौँ। हिमालयन बैंक लिमिटेडले गत आव २०८०-८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा यो रकम ८१.५९ प्रतिशतले बढी हो।
अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकले खुद शुल्क तथा कमिशन आम्दानी पनि ७.५८ प्रतिशतले बढाएर १ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ।
रिटेन्ड अर्निङ ५ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको रिजर्भको आकार २२ अर्ब ४३ करोड रुपैयाँ बराबर रहेको छ । रिजर्भको आकार अघिल्लो आवको तुलनामा ४७.४६ प्रतिशतले बढी हो ।
बैंकको खुद सञ्चालन मुनाफा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म यो रकम ६ अर्ब ७० करोड रुपैयाँमा सीमित थियो । बैंकको कर्मचारी खर्च ३ अर्ब १९ करोड रुपैयाँ र अन्य सञ्चालन खर्च १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ । बैंकले कर्जा प्रवाह २ खर्ब २७ करोडबाट बढाएर २ खर्ब ३२ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै निक्षेप संकलन पनि २ खर्ब ७५ अर्ब रुपैयाँबाट बढाएर २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात ४.९१ प्रतिशत रहेको छ भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब ७८ करोड रुपैयाँको व्यवस्था गरेको छ ।
चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ७८ करोड रुपैयाँले ऋणात्मक रहेको छ। यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने ९.१८ रुपैयाँबाट बढेर १३.१० रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ, र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५०.७८ रुपैयाँ कायम भएको छ ।

































