काठमाडौं । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा ४० अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा ५२४ परियोजनामार्फत ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता प्राप्त भएको हो।
विभागका तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रमा परेको छ। कृषिसम्बन्धी १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको आधाभन्दा बढी हो।
त्यस्तै, सेवामूलक ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ र सूचना प्रविधि (आईटी) क्षेत्रका २८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। यसैगरी, दुई खनिजजन्य परियोजनामा ११ करोड ५० लाख रुपैयाँ र एक ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
माघ मसान्तसम्म अटोमेटिक रुटमार्फत ३ अर्ब २५ करोड रुपैयाँ र अप्रुभल (स्वीकृति) रुटमार्फत ३७ अर्ब ३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ अर्ब रुपैयाँ बढी हो। गत आर्थिक वर्षको माघ मसान्तसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो। समीक्षा अवधिसम्म वैदेशिक लगानीका कुल ५२५ उद्योग दर्ता भएको विभागले जनाएको छ।


































