काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आएका छन्।
विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गरेका मगरको बगानमा पाक्न लागेका ६० क्विन्टल जति किबी फलेको छ ।
मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताए। उनले भने, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।” किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए ।
विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गरे। सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए ।
पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिए । हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहेका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्।
६ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताए। लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ ।


































