काठमाडौं । नेपालको आर्थिक स्वतन्त्रताको अंक बढेको छ, तर विश्व वरीयतामा भने देश एक स्थान पछाडि परेको छ। फ्रेजर इन्स्टिच्युट र समृद्धि फाउण्डेशनको नयाँ प्रतिवेदनअनुसार नेपाल १६५ देशमध्ये ९०औँ स्थानमा झरेको हो।
गत वर्ष ८९औँ स्थानमा रहेको नेपालले यस वर्ष १० मध्ये ६.५९ अंक पाएको छ। अघिल्लो वर्ष ६.५८ अंक रहेको थियो। अर्थात् नेपालको अंक सुधारिए पनि अन्य देशको प्रदर्शन तुलनात्मक रूपमा राम्रो भएपछि वरीयतामा नेपाल पछाडि परेको हो।
नेपालको आर्थिक स्वतन्त्रता मूल्याङ्कन गरिने पाँच प्रमुख क्षेत्रमध्ये अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा भने उल्लेख्य सुधार देखिएको छ। गत वर्ष ६.२१ अंकसहित १२६औँ स्थानमा रहेको नेपाल यस वर्ष ६.३९ अंकसहित ११७औँ स्थानमा उक्लिएको छ।
त्यस्तै, स्वस्थ मुद्रामा पहुँचसम्बन्धी सूचकमा नेपालको अंक ७.३७ बाट बढेर ७.५७ पुगेको छ। तर वरीयता भने ९६औँबाट १०१औँ स्थानमा झरेको छ।
सरकारको आकारसम्बन्धी सूचकमा नेपाल ४९औँबाट ५१औँ, कानुनी व्यवस्था तथा सम्पत्तिको अधिकार सुरक्षामा ९१औँबाट ९६औँ र नियमनसम्बन्धी सूचकमा ३७औँबाट ५०औँ स्थानमा झरेको छ।
पाँच प्रमुख क्षेत्रअन्तर्गतका २४ उपसूचकमध्ये नेपाल सातवटामा माथि उक्लिएको, छवटामा तल झरेको र ११ वटामा अघिल्लो वर्षकै स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।
समग्र वरीयता घटे पनि नेपालको आर्थिक स्वतन्त्रताको अंक भने पछिल्ला वर्षमा सुधार हुँदै आएको छ। सन् २०२० मा ६.३१ अंकमा झरेको नेपालको स्कोर क्रमशः बढ्दै यस वर्ष ६.५९ पुगेको हो।
विश्व वरीयतामा हङकङ पहिलो स्थानमा छ भने स्विट्जरल्यान्ड दोस्रो र सिङ्गापुर तेस्रो स्थानमा छन्। भारत ८८औँ, चीन ११०औँ र रुस १४३औँ स्थानमा रहेका छन्।


































