मकवानपुर। बागमती प्रदेशको कुल अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ, जसले नेपालको कुल अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा ओगट्ने देखिएको छ। प्रदेश आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार नेपालको समग्र अर्थतन्त्र ६६ खर्ब रुपैयाँभन्दा बढी हुने प्रक्षेपण छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सभामा प्रस्तुत गरेको प्रतिवेदनमा बागमतीको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा उच्च हो।
आर्थिक सर्वेक्षणले बागमती प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व अझै बलियो रहेको देखाएको छ। कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको हिस्सा ७६.६ प्रतिशत, उद्योगको १२.२ प्रतिशत र कृषिको ११.२ प्रतिशत रहने अनुमान गरिएको छ।
प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसतभन्दा धेरै माथि देखिएको छ। देशको औसत प्रतिव्यक्ति आय १,५१३ अमेरिकी डलर अनुमान गरिएकोमा बागमतीमा यो २,६४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।
प्रदेश सरकारको खर्च अपेक्षाकृत कमजोर देखिएको छ। फागुनसम्म कुल बजेटको २२.३० प्रतिशत मात्र खर्च भएको छ, जसमा पूँजीगत खर्च १७.१२ प्रतिशतमा सीमित रहेको छ।
यसैबीच, वित्तीय पहुँच विस्तार भई सबै स्थानीय तहमा बैंक शाखा पुगेका छन्। वित्तीय साक्षरता ६४.५ प्रतिशत, साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ। खानेपानी, विद्युत् पहुँच, सडक निर्माण र स्वास्थ्य क्षेत्रमा पनि क्रमिक सुधार देखिएको सर्वेक्षणले जनाएको छ। मातृ मृत्युदर प्रति लाख जीवित जन्ममा ९८ रहेको उल्लेख गरिएको छ।


































