काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्ममा आयात र निर्यात दुवै बढेका छन्।
यस अवधिमा कुल वैदेशिक व्यापार नौ खर्ब ३७ अर्ब २४ करोड रुपियाँ पुगेको छ। विभागका अनुसार समीक्षा अवधिमा आयात ३१.७७ प्रतिशतले बढेर आठ खर्ब तीन अर्ब नौ करोड रुपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो छ खर्ब नौ अर्ब ४५ करोड रुपियाँ थियो।
त्यस्तै, निर्यात ४३.४८ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब १४ करोड रुपियाँ पुगेको छ। गत वर्षको चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाख रुपियाँको निर्यात भएको थियो। आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने २९.६५ प्रतिशतले वृद्धि भई छ खर्ब ६८ अर्ब ९५ करोड रुपियाँ पुगेको छ।
चार महिनाको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५७ अर्ब ५५ करोड रुपियाँ बराबरको इन्धन आयात भएको छ। यसैगरी ८० अर्ब ८२ करोड रुपियाँको वनस्पति तेल, ६७ अर्ब २८ करोडको सवारीसाधन र पार्टपुर्जा, ६२ अर्ब ८१ करोडको सोयाबिन कच्चा पदार्थ, ४९ अर्ब ३३ करोडको आइरन तथा स्टिल र २० अर्ब ६८ करोड रुपियाँको स्मार्टफोन आयात भएको छ।
निर्याततर्फ ६१ अर्ब ३४ करोड ९१ लाख रुपियाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। साथै, तीन अर्ब ८९ करोडको कार्पेट, तीन अर्ब ४४ करोडको अलैँची, तीन अर्ब ३१ करोडको जुट, दुई अर्ब ७८ करोडको सूर्यमुखी तेल र दुई अर्ब ६९ करोड रुपियाँको पाम तेल निर्यात भएको छ।
भारतसँगको व्यापारमा चार खर्ब ६२ अर्बको आयात र एक खर्ब १२ अर्बको निर्यात हुँदा व्यापार घाटा तीन खर्ब ४९ अर्ब ४९ करोड रुपियाँ रहेको छ। चीनबाट एक खर्ब ६४ अर्ब २७ करोडको आयात र एक अर्बको निर्यात हुँदा व्यापार घाटा एक खर्ब ६३ अर्ब २५ करोड रुपियाँ पुगेको छ।


































