काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ परियोजनामार्फत कुल ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। यस वर्ष परियोजनाको संख्या बढे पनि प्रतिबद्धताको रकम भने गत वर्षको तुलनामा घटेको छ।
चालू आर्थिक वर्षको दुई महिनामा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ। यस क्षेत्रमा ७० परियोजनामार्फत ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
पर्यटनपछि सेवा क्षेत्रमा २६ परियोजनामार्फत ३ अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
यस्तै, उत्पादनमूलक उद्योगतर्फ १८ परियोजनामार्फत १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधिसम्बन्धी क्षेत्रमा भने २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएको विभागले जनाएको छ।
ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि २ अर्ब रुपैयाँ र कृषिमूलक क्षेत्रमा एउटा परियोजनाका लागि २० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
यसरी हेर्दा कुल परियोजनामध्ये सबैभन्दा धेरै सूचना प्रविधिसम्बन्धी क्षेत्रमा रहेका छन् भने लगानी रकमका आधारमा पर्यटन र सेवा क्षेत्र अगाडि देखिएका छन्।


































