काठमाडौं। नेपालमा सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १९० वटा आरोहण टोलीमा आबद्ध उनीहरूले ५० वटा हिमाल आरोहण गर्ने अनुमति पाएका हुन्।
अनुमति प्राप्त आरोहीमध्ये १ हजार २५३ पुरुष र ३८० महिला छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सबैभन्दा धेरै फ्रान्सका १५० आरोहीले अनुमति लिएका छन्। त्यस्तै चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२, जर्मनीका १०२ र नेपालका ९० आरोही छन्।
यसैगरी स्पेनका ५६, स्वीट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक रिपब्लिकका ४२ जनाले आरोहण अनुमति लिएका छन्।
आरोहण अनुमतिबापत सरकारले हालसम्म ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम २१ लाख ९७ हजार ७१० अमेरिकी डलरबराबर रहेको विभागले जनाएको छ। गत अगस्टको अन्तिम सातादेखि आरोहण अनुमतिका लागि रोयल्टी संकलन सुरु गरिएको थियो।
यस सिजनमा आरोहीको सबैभन्दा बढी आकर्षण मनास्लु हिमालतर्फ देखिएको छ। आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। यसबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ।
त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन्। यसबाट सरकारले सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व प्राप्त गरेको छ। हिम्लुङ हिमालका लागि १३ टोलीका १३० जनाले अनुमति लिँदा ७९ लाख ७४ हजार २० रुपैयाँ रोयल्टी संकलन भएको छ।
विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि ३७ जना र मकालु हिमालका लागि तीन जनाले अनुमति लिएका छन्।
यसका अतिरिक्त पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ।


































