काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रमुख प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने उक्त बैठकमा निर्यात प्रवर्द्धनमा देखिएका चुनौती, नीतिगत सुधारका आवश्यकता तथा सम्भावित समाधानका उपायबारे केन्द्रित छलफल हुने जनाइएको छ।
छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल लगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ।
प्रधानमन्त्री शाहले निर्यात क्षेत्रका विद्यमान समस्या, उत्पादन विस्तार, अन्तर्राष्ट्रिय बजारमा पहुँच वृद्धि तथा उद्योग–व्यवसायमैत्री वातावरण निर्माणका विषयमा निजी क्षेत्रका सुझाव संकलन गर्ने लक्ष्य लिएको बताइएको छ।
सरकारले अर्थतन्त्र सुधार तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उद्योगी–व्यवसायी र सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएको छ। सोही सिलसिलामा सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्दै आर्थिक गतिविधिलाई गति दिने उद्देश्यले यस्ता छलफललाई निरन्तरता दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


































