काठमाडौं- नेपाली सेनाले दुग्ध विकास संस्थान (डिडिसी) बाट दैनिक १० हजार २ सय ५१ लिटर प्रशोधित दूध तथा अन्य दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ। यसका लागि डिडिसी र नेपाली सेनाबीच सम्झौता भएको छ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी संजयकुमार रंजितबीच दूध, दही, पनिर, पाउडर दूध र चिज खरिदसम्बन्धी सम्झौता भएको हो। सम्झौता आगामी १ माघदेखि कार्यान्वयनमा आउने डिडिसीले जनाएको छ।
सम्झौताअनुसार सेनाले डिडिसीबाट दैनिक १० हजार २ सय ५१ लिटर दूध, ३ सय ६५ लिटर दही, ३७ किलो पनिर, २१ किलो पाउडर दूध र १५ किलो चिज खरिद गर्नेछ।
महाप्रबन्धक पाण्डेले सेनालाई दैनिक १० हजार लिटरभन्दा बढी दूध आपूर्ति गर्ने सम्झौता डिडिसीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार सम्झौता कार्यान्वयन गर्न डिडिसीले किसानबाट दूध खरिदको परिमाणसमेत तत्काल बढाउने तयारी गरेको छ।
हाल डिडिसीले देशभरबाट दैनिक करिब ७० हजार लिटर दूध संकलन गर्दै आएको छ। दशैंलगत्तै थप ४० हजार लिटर दूध संकलन बढाएर दैनिक १ लाख लिटरभन्दा बढी दूध किसानबाट खरिद गर्ने लक्ष्य रहेको पाण्डेले बताए।
दूध संकलन बढाउँदा किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने डिडिसीको अपेक्षा छ। पाण्डेका अनुसार संस्थानले दूध खरिदबापतको बक्यौता पनि चुक्ता गरिसकेको छ।
सम्झौताअनुसार सेनाका ३२ जिल्लामा रहेका ब्यारेकमा डिडिसीका दूध तथा दुग्धजन्य उत्पादन आपूर्ति गरिनेछ। सहरी क्षेत्रमा प्रशोधित दूध तथा हिमाली क्षेत्रका ब्यारेकमा पाउडर दूध पठाउने तयारी रहेको पाण्डेले बताए।
यसैबीच डिडिसीले निर्यातसँगै आन्तरिक बजार विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछि डिडिसीले दुबईमा घिउ तथा थाइल्याण्डमा याक चिज निर्यात सुरु गरेको पाण्डेले बताए। जापान र दक्षिण कोरियामा पनि चाँडै घिउ निर्यात गर्ने तयारी भइरहेको उनको भनाइ छ।
पाण्डेका अनुसार पछिल्लो ६ महिनामा काठमाडौं उपत्यकामा मात्रै डिडिसीका १८ वटा नयाँ आउटलेट थपिएका छन्। ती आउटलेटमार्फत सर्वसाधारणसम्म डिडिसीका उत्पादन सहज रूपमा पुर्याउने प्रयास भइरहेको उनले बताए।
‘निर्यातबाट मात्र होइन, आन्तरिक बजार पनि बलियो बनाउनुपर्छ भनेर केही रणनीति अख्तियार गरेका छौं,’ पाण्डेले भने।
आगामी दिनमा अन्य सरकारी निकायसँग संस्थागत सहकार्य विस्तार गरी डिडिसीको कारोबार बढाउने योजना रहेको उनले बताए।


































