स्याङ्जा - स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
गर्भवतीलाई सहज रूपमा अस्पतालसम्म पुर्याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवं स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिए ।
सुरक्षित तथा संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने, मातृशिशु मृत्युदरलाई शून्यमा झार्ने र घरमै हुने सुत्केरीको दरलाई शून्यमा पुर्याउने उद्देश्य राखिएको उनले बताए ।
‘गाउँघरमा आवश्यक परेका जुनसुकै बेला सवारीसाधन उपलब्ध नहुन सक्छन्, कतिपयलाई अस्पतालसम्म पुग्न सवारीसाधनको पहुँच नहुन पनि सक्छ’, उनले भने, ‘गर्भवतीलाई छिटोछरितो र सहज रूपमा अस्पतालसम्म पुर्याएर सुरक्षित रूपमा सुत्केरी बनाउन एम्बुलेन्स सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’
हरिनास गाउँपालिका ग्रामीण र विकटमा रहेको गाउँपालिका हो । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी गाउँपालिकाका तीनवटा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् ।
वडा नं. ३ को मग्याम चिसापानीस्थित मग्याम चिसापानी स्वास्थ्य चौकी, वडा नं. ४ को चित्रेभञ्ज्याङमा रहेको चित्रेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं. ६ को क्याक्मीमा अवस्थित क्याक्मी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ ।
‘घरबाट बर्थिङ सेन्टरसम्म सहज रूपमा पुर्याउन पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको हो’, उनले भने, ‘गर्भवती तथा सुत्केरीलाई नेपाल सरकारले दुई हजार उपलब्ध गराउँदै आएको छ ।’
हरिनास गाउँपालिकामा हालसम्म एउटा आयुर्वेद औषधालयसहित कुल १० वटा स्वास्थ्य चौकी रहेका छन् । स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अस्पतालको भवन निर्माण भइरहेको छ ।
गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुईवटा एम्बुलेन्स सञ्चालनमा छन् ।






































