काठमाडौँ । हामी धेरैलाई चासोको विषय हुन सक्छ यो विश्व जगतमा सबैभन्दा धनी मान्छे को हुन सक्ला वा कति सम्पत्ति भएको मान्छे विश्वको सबैभन्दा धनी मान्छे हुन सक्ला भनेर ?
थाहा भएकाहरुलाई लाग्न सक्छ त्यो त उनै टेस्लाका संस्थापक इलन मस्क नै त हुन नी भनेर तर इलन मस्कको रेकर्डमा यति बेला ब्रेक लागेको छ ।
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले टेस्लाका संस्थापक इलन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पार्दै अगाडि गएका छन् । सोमबार अर्बपति बेजोसको नेटवर्थ २ खर्ब डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको ब्लुमबर्गले उल्लेख गरेको छ ।
बेजोस करिब ३ वर्षपछि पुनः अर्बपतिहरुको सूचीमा शीर्ष स्थानमा आएका हुन् ।
एजेन्सीका अनुसार मस्कको नेटवर्थ भने १ खर्ब ९७ अर्ब डलर कायम भएको छ। कुनै समय मस्कको नेटवर्थ बेजोसको भन्दा १ खर्ब ४२ अर्ब डलर बढीसम्म पुगेको थियो। तर अमेजन र टेस्लाको सेयर विपरीत दिशामा सर्दा दुई अर्बपतिबीचको सम्पत्तिको खाडल पनि सङ्कुचित हुँदै गएको ब्लुमबर्गले उल्लेख गरेको छ। अमेजनको सेयर भाउ सन् २०२२ को अन्त्ययता दोब्बर भन्दा बढीले वृद्धि भएको छ । अर्कोतर्फ, टेस्लाको सेयर भाउ भने सन् २०२१ को उच्चतम विन्दुबाट अझै ५० प्रतिशत तल रहेको छ ।


































