काठमाडौं । नेपाल बिमा प्राधिकरणले आज आइतवार कृषि क्षेत्र अन्तर्गतका चार वटा बिमालेख जारी गरेको छ । प्राधिकरणले स्वीकृत गरेको यसरी जारी भएका नयाँ बिमालेखहरुमा उखु बिमालेख, मौरी बिमालेख, कफी खेती बिमालेख रहेका छन् ।
प्राधिकरणले जारी गरेको उक्त बिमालेखलाई बिमा कम्पनीहरूले हु–बहु रूपमा लागु गर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्रधिकरणका निर्देशक पूजन ढुङ्गेगेलका अनुसार कृषि बिमा अन्तर्गतका यी बिमालेखले सम्बन्धित बाली प्रोत्साहनका लागि सहयोग गर्नेछन् ।
उखु खेती बिमालेखमा आगलागी, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङको कारणले भएको क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति समावेश गरिएको छ ।
चारवटै प्रकारको बिमामा आगलागी, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङको कारणले भएको क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति समावेश गरिएको छ ।
बिमालेखमा बिमकले कम्तीमा २ लाखसम्मको दुर्घटना बिमा अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तो दुर्घटना बिमाका लागि दुई सय रुपैयाँ बिमाशुल्क निर्धारण गरिएको छ । कृषि बिमासँगै जोडिएर आए पनि यो शुल्कमा भने अनुदान नपाइने बिमा प्राधिकरणले प्रस्ट पारेको छ । एउटै व्यक्तिले एकभन्दा धेरै कृषि बिमा गरेको अवस्थामा फरक फरक दुर्घटना बिमा आवश्यक नभएको प्राधिकरणले जनाएको छ ।
उल्लेखित बिमालेख अन्तर्गत हुने अन्य अप्रत्यक्ष क्षति, अधिकारप्राप्त निकायको आदेशमा नष्ट गरिएको अवस्था, विकिरणयुक्त पदार्थका कारणले भएको क्षति, आणविक हतियारबाट भएको क्षति लगायतमा भने बिमाको दायित्व बहन नगर्ने प्राधिकरणले प्रस्ट पारेको छ ।
उता, दुर्घटना बिमा अन्तर्गत त्यस्तो व्यक्तिको आत्महत्या, स्पाइनल इञ्जुरी, एक वा दुवै हातको नाडी वा खुट्टाको गोली गाँठोभन्दा माथिको पुरै खुट्टा काम नलाग्ने भएमा यस्तो बिमा रकम प्राप्त गर्न सकिने जनाइएको छ ।

































