काठमाडौँ । नेपाली व्यवसायको विकास तथा प्रवर्द्धनका साथै हरित विकास वृद्धिका लागि बेलायतले नेपाल सरकारलाई (७ करोड पाउन्ड स्ट्रलिङ) ११ अर्ब ७२ करोड रुपैयाँ अनुदान दिएको छ ।
प्राप्त भएको उक्त रकम सात वर्ष अवधिमा प्रयोग गरिने छ । मङ्गलवार बेलायतले नेपाल इन बिजनेस ९एनआइबी० कार्यक्रम र ग्रीन ग्रोथ नेपाल कार्यक्रमका लागि दुई फरक शीर्षकमा ११ अर्ब ७२ करोड बढी रकम अनुदान दिएको हो ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र बेलायतका तर्फबाट ब्रिटिस दूतावास नेपालकी विकास निर्देशक पिप्पा बर्डले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
एनआइबी कार्यक्रम अन्तर्गतको अनुदानले नेपालमा व्यवसाय विस्तार गर्न, रोजगारी सिर्जना गरी गरिबी अन्त्य गर्न र आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नेछ। यस कार्यक्रम अन्तर्गतको अनुदान रकम नेपालका साना तथा मझौला उद्योगहरूको सुदृढीकरण गरी उत्पादकत्व वृद्धि गर्न र नेपालमा व्यवसाय सञ्चालनका लागि वातावरण सिर्जना गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।
यस्तै ग्रीन ग्रोथ नेपाल अन्तर्गतको अनुदान रकमले नेपालमा जलवायु स्मार्ट पूर्वाधार विकास गर्न, स्वच्छ ऊर्जा उत्पादनमा लगानी बढाउन सहयोग गर्नेछ । यसै सन्दर्भमा बेलायत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले बेलायतको यो सहयोगले नेपाललाई गरिबीको अन्त्य गरी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्ने र ग्रीन फाइनान्सीङ, ग्रीन डेभलपमेन्टका लागि सहयोग गर्ने बताएका छन् ।


































