काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीबाट बीमितहरुले पौने चार अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर गरेका छन् ।
बीमा प्राधिकरणको एक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूमा प्रथम त्रैमासको अवधिसम्म बीमितहरुले ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका हुन ।
कम्पनीको २८ हजार बीमितले बीमा कम्पनीबाट यो मात्रामा बीमा पोलिसी सरेण्डर गरेका हुन् । जस मध्येमा असोज मसान्तसम्ममा एलआईसी नेपाल, नेपाल लाइफ कम्पनीको सर्वाधिक सरेण्डर भएको छ।
प्रथम त्रैमासको अवधिमा एलआईसी नेपालको १ अर्ब २२ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। दोस्रोमा नेपालमा सबैभन्दा बढी कारोबार गर्दै आएको नेपाल लाइफमा सरेण्डर बढी भएको देखिएको छ ।
कम्पनीमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। कम्पनीको २७ करोडको बीमा पोलिसी सरेण्डर भएको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार नेशनल लाइफको २३ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको १९ करोड ३३ लाख रुपैयाँ, हिमालयन लाइफको १९ करोड २३ लाख रुपैयाँ र मेट लाइफको १० करोड ६३ करोड, एशियन लाइफको २४ करोड रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको छ ।
कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर कायम भएर ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।


































