काठमाडौँ । पछिल्लो समय डिजिटल प्रयोगकर्ताको सङ्ख्यामा दैनिक वृद्धि हुँदै गएको छ । भरपर्दो र विश्वासिलो बन्दै गएको अनलाइन बैंकिङ्ग सुविधा सेवाको प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा उक्त मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यामा ३ लाख भन्दा बढी पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको छ।
अघिल्लो महिना असार मसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएर भदौमा उक्त सङ्ख्या कायम भएको हो । अघिल्लो साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो।
मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यासँगै वालेट प्रयोगकर्ताको पनि सङ्ख्या बढेको छ । असारको तुलनामा साउनमा वालेट प्रयोगकर्ताको सङ्ख्या ७ लाखले बढेको हो । असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ रहेकोमा साउनमा बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ पुगेको छ ।
त्यस्तै, इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यामा ४३ हजारले बढेको छ। हाल देशमा १९ लाख ६२ हजार ८२७ जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् । साउन महिनामा मात्रै मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ।

































