काठमाडौँ- रिडी पावर कम्पनीले फागुन १८ गते शुक्रवार अर्थात् आजदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।
कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको कम्पनीले जानकारी दिएको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ।
उक्त हकप्रद सेयरको लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ।
तसर्थ, माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । रिडी पावरको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितो पत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।



































