काठमाडौँ। एन.आई.सी. एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी देखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरू सम्पन्न गरेको हो। हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधि,भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आबद्ध सदस्यहरू तथा गैर सदस्यहरूलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता लगायतका विषय समेटेर कार्यक्रममा छलफल गरिएको थियो ।
यसबाट सहभागीहरूमा वित्तीय क्षेत्रका विविध विषयहरूमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए । स्थानीय प्रतिनिधि तथा भद्र भलाद्मीहरुले यस्तो प्रकारको कार्यक्रम समय समयमा गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्षेत्र भित्रका करिब १३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रम लघुवित्त वित्तीय संस्थाको विभिन्न जिल्लाहरु गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन लगायतका ठाउँमा कार्यक्रम गरिएको थियो ।

































