काठमाडौं । सूचीकृत कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समयमै वार्षिक नवीकरण शुल्क बुझाउनका निमिक्त निर्देशन दिएको छ।
चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेले निर्देशन दिएको हो। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्था अनुसार वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।
नेप्सेले सूचीकृत कम्पनीहरुको चुक्ता पुँजीको आधारमा नवीकरण शुल्क निर्धारण गर्दै आएको छ ।
म्युचुअल फण्डहरुले ५० करोड रुपैंया भन्दा बढी चुक्ता पुँजी भएमा ५० हजार रुपैंया र सोभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई २५ हजार रुपैंया शुल्क तोकेको छ । धितोपत्र सूचीकरण नियमावली २०७५ ले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ३ महिनाभित्र आफ्नो सूचीकरण नवीकरण गर्नुपर्ने व्यवस्था छ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा कम्पनीहरुको नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि नेप्सेले दिएको छ ।
.


































