काठमाडौं । सरकारले नियमावली संसोधन गरेर कित्ताकाट सहज बनाउँदा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन ।
गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।
सरकारले ठप्प रहेको कित्ताकाट खुलाएपछि पनि घरजग्गा कारोबारमा उत्साह नदेखिएको विभागको तथ्यांकले पुष्टि गर्छ । गत वर्षको असोज १–२० गतेसम्मको तुलनामा यस वर्षको असोजको सोही अवधिमा समग्र कित्ताकाट १३.५८ र कारोकार ८.५६ प्रतिशतले घटेको छ ।
गत वर्षको असोजमा २९ हजार २७८ वटा कित्ताकाटको लिखत पारित हुँदा यस वर्षको असोजमा २५ हजार १०७ वटा मात्रै भएको छ । यसरी हेर्दा कित्ताकाट लिखत पारित मात्रै १४.२४ प्रतिशतले घटेको विभागको तथ्यांक छ ।
कित्ताकाटसँगै कारोबार लिखत पारित घटेको छ । कारोबार लिखत पारित ७.८१ प्रतिशतले घटेको छ । गत वर्षको असोजमा २५ हजार ४२४ वटा कारोबार लिखत पारित हुँदा २३ हजार ४३६ वटा भएको छ । विभागका अनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको सोही अवधिमा राजस्व पनि ९७.३४ प्रतिशतले घटेको छ ।
गत वर्षको असोजमा २ अर्ब ५६ करोड २० लाख रूपैयाँ उठाउँदा यस वर्षको असोजमा ६ करोड ७९ लाख रूपैयाँ मात्रै राजस्व उठेको विभागको तथ्यांक छ । आर्थिक सुस्तता कारण घरजग्गा कारोबार बढ्न नसकेको नेपाल घरजग्गा व्यवसायी महासंघको भनाई रहेको छ ।
गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको भदौमा कित्ताकाटको लिखत पारित र कारोबारको लिखत पारित पनि घटेको छ । राजस्व भने १.४५ प्रतिशतले बढेको विभागको तथ्यांक छ । कित्ताकाटको लिखत ७८.१८ प्रतिशतले घटेको छ भने कारोबारको लिखत पारित ८ प्रतिशतले घटेको छ ।


































