काठमाडौँ। सहकारी ठगीमा फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन् ।
इन्टरपोलमा रेड नोटिस समेत जारी भएको मेयर नेपालीलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ। भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार छन् ।
बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका नेपालीले भने यस अगाडि समेत सामाजिक सञ्जाल मार्फत छलफलको वातावरण बनाउन र आफू नेपाल आएर सहकारीको सम्पूर्ण रकम तिर्न तयार भएको बताएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।


































