काठमाडौँ । सहकारी अपचलनको समस्या दैनिक रूपमा बढेसँगै बचतकर्ताको रकम फिर्ता तथा हिसाब मिलानको कार्य समेत तीव्र गतिमा बढेको छ । हालसम्म विभिन्न चरणमा गरेर ६ हजार १५५ जना सहकारीका बचतकर्ताले आफ्नो पूरै बचत रकम फिर्ता पाएका छन् ।
आज (मंगलबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको छ।
जस अनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ ।
समितिको अनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्म १ हजार २०० जनाको माग दाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ करोड ६५ लाख रकम फिर्ता पाएका थिए । यसैगरी चालु आव २०८१/८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको समितिले जनाएको छ ।
आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको सङ्ख्या ६ हजार ५९६ पुगेको छ । यी बचतकर्ताको कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ । साथै,अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी रहेको समितिले जनाएको छ। उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता बाकी रहेको छ ।


































