काठमाडौँ– प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको १५ करोड बढीको रकम हिनामिना गर्ने उपाध्यक्ष सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बबिता डंगोल सहित सचिव कान्छा भाइ डंगोल, कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमर भाइ बज्रचार्य छन् । सीआईबीका अनुसार पक्राउ परेकाहरू विरुद्ध ठगीको कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।
काठमाडौँको भिन्नाभिन्नै ठाउँबाट सीआईबीले उक्त पाँच जनालाई गत शुक्रवार नै पक्राउ गरेको सीआईबीले जनाएको छ । सहकारीले बचतकर्ताहरूको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन गरेको सीआईबीले जानकारी दिएको छ ।
उनीहरूले काठमाडौँ चुच्चे पाटीमा कार्यालय स्थापना गर्दै सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा बचतकर्ताको निक्षेप रकम प्रचलित कानुन विपरीत कर्जा तथा सम्पत्तिहरूमा गैह्र कानुनी रूपमा लगानी गर्दै निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गरी सहकारी संस्थालाई नोक्सानी पुऱ्याएको देखिएको सीआईबीले जानकारी दिएको छ ।


































