काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग जोडिएका परिवारका सदस्य तथा केही साझेदारको बैंक खाता रोक्का गरेको छ। सेयर मूल्य प्रभावित पार्ने, कृत्रिम रूपमा मूल्य बढाउने र शंकास्पद कारोबार गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा खाता रोक्का गरिएको हो।
यसअघि नेपाल धितोपत्र बोर्डले अग्रवालको सेयर कारोबारमाथि अध्ययन तथा अनुसन्धान गरी थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो। सोही क्रममा अग्रवाललाई गत पुसमा पक्राउ गरी १० दिन हिरासतमा राखिएको थियो।
सीआईबी स्रोतका अनुसार पछिल्लो अनुसन्धानका क्रममा अग्रवालसँग कारोबारमा जोडिएका परिवारका सदस्य र अन्य व्यक्तिहरूको बैंक खाता समेत रोक्का गरिएको हो। ब्यूरोले ठगी, झुटा कारोबार तथा सेयरको मूल्य प्रभावित पार्न खोजेको आरोपमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
बोर्डको अध्ययनमा अग्रवालले कम मूल्यमा सेयर खरिद गरी विभिन्न माध्यमबाट प्रचारप्रसार गरेर मूल्य बढाउने र त्यसपछि बिक्री गर्ने शैली अपनाएको निष्कर्ष निकालिएको बताइएको छ। यस्तै, आपसी तथा आफन्तसँग सम्बन्धित संस्थाबीच वास्तविक स्वामित्वमा परिवर्तन नआउने गरी कारोबार गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ।
अग्रवालले अन्य व्यक्तिका कारोबार खाता सञ्चालन गर्ने, ब्रोकरसँगको भुक्तानीमा विवाद सिर्जना गर्ने तथा एउटा कारोबार खाताबाट अर्को व्यक्तिको खातामा रकम स्थानान्तरण गर्ने गरेको सम्बन्धमा समेत उजुरी परेको बताइएको छ।
सीआईबीले अनुसन्धानका क्रममा अग्रवालको करिब ५५ अर्ब रुपैयाँ बराबरको नेटवर्थसम्बन्धी विवरण फेला पारेको दाबी गरेको छ। यससँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ।
यसैबीच, सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्टसँग जोडिएको विषयमा पनि अग्रवाल विवादमा आएका छन्। रिसोर्ट हाल बन्द अवस्थामा रहेको र बैंकले तेस्रोपटक लिलामी प्रक्रिया अघि बढाएको बताइएको छ। रिसोर्टका कर्मचारीले पारिश्रमिक नपाएको भन्दै श्रम विभागमा समेत उजुरी दिएका छन्।
रिसोर्टको स्वामित्व, सञ्चालक समिति तथा कम्पनीसम्बन्धी विवरणमा विवाद देखिएको बताइएको छ। यस विषयमा पनि सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।


































