काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले आफ्ना मागहरू सम्बोधन गर्न एक हप्ते अल्टिमेटम दिएको छ । त्रिविले सेवा सुविधा कटौती गरेको विरोधमा आन्दोलनमा रहेको संघले एक हप्ताभित्रमा माग पुरा गर्न अल्टिमेटम दिएकाे हो ।
त्रिविले विभिन्न निकायमा कार्यरत कर्मचारीहरुले वर्षौंदेखि अतिरिक्त समयमा काम गर्दै प्रोत्साहन स्वरुप प्राप्त गरिरहेको सेवा सुविधालाई चालु आर्थिक वर्षदेखि कटौती गरेको थियो । त्यसको विरुद्धमा कर्मचारीहरू आन्दोलनमा छन् ।
आजको मितिले सातदिन भित्रमा सुविधा पुनरावलोकन समितिको प्रतिवेदन प्राप्त गरि कटौतीमा परेका सम्पूर्ण सेवा सुविधाहरु लागू हुने सुनिश्चितता गर्न माग गरेको हो । उक्त सुनिश्चितता नभए संघ कठोर भन्दा कठोर संघर्षका कार्यक्रमहरु अघि सार्न बाध्य हुने चेतावनी दिएको हो ।
विगतमा त्रिवि कर्मचारी संघसँग गरिएका सम्झौताहरु कर्मचारीहरुको करार गर्ने, करार सेवामा कार्यरत सम्पूर्ण श्रेणी विहिन लगायत प्रशासनिक कर्मचारीहरुको सेवा स्थायी गर्न प्रकृया सुरु गर्ने, त्रिविका कर्मचारीहरुको ड्रेस कोड लागू गर्न पोसाक भत्ता उपलब्ध गराउने, करार कर्मचारीहरुको संचय कोषमा वचत गर्ने व्यवस्था मिलाउने, औषधी
उपचारको सुविधा वृद्वि गर्ने, विश्वविद्यालयको भौतिक श्रोत साधनको उचित प्रयोग गर्दै आन्तरिक श्रोत बढाउने लगायतका थुप्रै विषयहरुमा भएका सम्झौताको इमान्दारिता पूर्वक कार्यान्वयन गर्न माग गरेको हो ।



































