काठमाडौं । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले आइतबार विद्यालय सञ्चालन गरी बालबालिकाको सिकाइमा निरन्तरता दिन शिक्षकहरूसँग भावुक अपिल गरेका छन्।
शिक्षकहरूलाई दुई हात जोडेर आग्रह गर्दै नगरप्रमुख महर्जनले विद्यालय आइतबार खुलाएर शिक्षकलाई दुःखी बनाउने आफ्नो उद्देश्य नभएको स्पष्ट पारेका छन्। शिक्षकहरूको मर्म, बाध्यता र अधिकार आफूले बुझेको भन्दै उनले शिक्षक केवल पेशाकर्मी नभई आफू जलेर पनि समाजमा प्रकाश छर्ने पवित्र कर्ममा समर्पित व्यक्तित्व भएको बताएका छन्।
आफू आजको अवस्थामा आइपुग्नुमा शिक्षकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले शिक्षकहरूको अधिकारप्रति गाली, अनादर वा हस्तक्षेप गर्ने आफ्नो कुनै मनसाय नरहेको बताए।
“आफ्नो अधिकारका लागि मात्र होइन, हाम्रा बालबालिकाको भविष्यका लागि पनि समर्पित बनौँ। अन्य दिनसँगै आइतबारलाई पनि बन्दको दिन होइन, भविष्य निर्माणको दिन बनाऔँ,” उनले आग्रह गरेका छन्।
एक दिनको शिक्षकको त्यागले विद्यार्थीको जीवनमा उज्यालो थप्न सक्ने भन्दै नगरप्रमुखले त्यस्तो त्याग कहिल्यै खेर नजाने बताएका छन्। आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले भविष्यमा उनीहरूले नै आज गरिएका कामको मूल्यांकन गर्ने उनको भनाइ छ।
आइतबार विद्यालय सञ्चालन गर्ने आग्रह कुनै व्यक्तिगत निर्णय वा राजनीतिक स्वार्थबाट प्रेरित नभएको उनले स्पष्ट पारेका छन्। स्थानीय सरकारको संवैधानिक जिम्मेवारी तथा बालबालिकाको सिकाइ र शिक्षाको गुणस्तरप्रतिको चिन्ताबाट आफूले हृदयदेखि यस्तो आग्रह गरेको उनले बताएका छन्।
“शिक्षा बदलियो भने समाज बदलिन्छ, समाज बदलियो भने नगर बदलिन्छ र नगर–नगर बदलिँदै देश बन्छ,” उनले भनेका छन्।
शिक्षकहरू नै समाज र भविष्य निर्माणका सबैभन्दा महत्वपूर्ण सर्जक भएको उल्लेख गर्दै नगरप्रमुखले शिक्षकलाई सम्मान गर्दै बालबालिकाको भविष्यका लागि एक दिन भए पनि अतिरिक्त योगदान गर्न पुनः आग्रह गरेका छन्।
“शिक्षक भगवान हुनुहुन्छ, शिक्षा हाम्रो प्राण तथा सकारात्मक मार्ग हो। आजका बालबालिका भविष्यका देश निर्माणकर्ता हुन्। हजुरहरूको अधिकारलाई थाती राखेर कृपया आफू जलेर भए पनि हाम्रा बालबालिकाको भविष्यमा प्रकाश छरिदिनुस्,” उनले भनेका छन्।


































