काठमाडौँ। तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जनले सामाजिक सञ्जालमा भ्रामक समाचार सम्प्रेषण गरी आफ्नो व्यक्तिगत चरित्र हत्या नगर्न चेतावनी दिएका छन्। शनिबार एक भावुक एवम् कडा ध्यानाकर्षण वक्तव्य जारी गर्दै उनले आधारहीन आरोप लगाउनुको सट्टा सत्य-तथ्य प्रस्तुत गरी प्रत्यक्ष बहसमा आउन चुनौती दिएका हुन्।
सामाजिक सञ्जालमा बढ्दो नकारात्मकता, टिआरपी (TRP) र भ्युज (Views) को लोभमा नागरिकमा भ्रम सिर्जना गर्ने गरी समाचार आएको भन्दै उनले आपत्ति जनाएका छन्।
जारी वक्तव्यमा उनले भनेका छन्, "मेरो कमिकमजोरी छ भने सामाजिक सञ्जालमार्फत होइन, प्रत्यक्ष बहस गरौँ।
'सिध्याउने खेल छोडेर नगर निर्माणमा जुटौँ'
आफू राजनीतिक दल, शुभचिन्तक र नगरवासीको विश्वासका कारण ५ वर्षका लागि सेवकका रूपमा निर्वाचित भएको उल्लेख गर्दै उनले व्यक्तिगत प्रतिशोधको राजनीति बन्द गर्न आग्रह गरेका छन्। आगामी दिनमा जनताको मन जितेर सेवक बन्ने बाटो सबैका लागि खुला रहेको स्मरण गराउँदै उनले भने, "मलाई सिध्याउने निहुँमा समय बर्बाद नगर्नुहोस्। बरु सो समय एक आपसमा हातेमालो गरी नगर निर्माणमा अगाडि बढौँ।"
आरोप र व्यक्तिगत आघात
जनप्रतिनिधिको पनि परिवार र आफन्त हुने भन्दै उनले सामाजिक सञ्जालमा गरिने अनर्गल प्रचारले गम्भीर मानसिक चोट पुर्याउने बताएका छन्। सबैलाई शतप्रतिशत चित्त बुझाउन नसके पनि नगरपालिकालाई जानी-जानी बिगार्ने वा हानि पुर्याउने काम कहिल्यै नगरेको उनको दाबी छ।
अन्त्यमा, उनले यस्ता कपोलकल्पित र भ्रमपूर्ण गतिविधिमा संलग्न नहुन र कसैलाई पनि त्यस्ता कार्यमा नलगाउन आग्रह गर्दै सदा नगरवासीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


































