काठमाडौं। अघिल्लो वर्षको तुलनामा कमी आए पनि गत आर्थिक वर्ष २०८२/८३ मा करिब ८ लाख नजिक नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएर विदेशिएका हुन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ हजार ७९ ले कम हो।
विदेशिनेहरूमध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा भने ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए।
तथ्यांकअनुसार म्यानपावर कम्पनीमार्फत विदेशिनेको संख्या घटेको छ। समीक्षा अवधिमा म्यानपावरमार्फत २ लाख ६८ हजार ९ सय ९० जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत १ लाख २८ हजार ५ सय २० जना विदेशिएका छन्। सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत ८ हजार १ सय ९७ जना गएका छन्।
अघिल्लो वर्ष म्यानपावरमार्फत ३ लाख ५९ हजार ६ सय ७५ जना विदेशिएका थिए, जुन यो वर्षको तुलनामा ९० हजार ६ सय ८५ ले बढी हो।
गन्तव्यका आधारमा सबैभन्दा धेरै नेपाली यूएई गएका छन्, जहाँ १ लाख ८३ हजार ५ सय ८० जना (पुनः श्रम स्वीकृतिसहित) पुगेका छन्। त्यसपछि मलेसिया (१ लाख २८ हजार ७ सय ५३), साउदी अरेबिया (१ लाख २३ हजार ७ सय १९) र कतार (१ लाख २१ हजार २ सय ३०) प्रमुख गन्तव्यका रूपमा रहेका छन्।
यसैगरी, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपाली रोजगारीका लागि गएका छन्।
































