काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निवृत्तिभरण लिइसकेका व्यक्तिलाई करारमा नियुक्त नगर्न निर्देशन दिएको छ।
शुक्रबार जारी परिपत्रमार्फत् सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी निकायलाई यस्तो व्यवस्था लागू गर्न भनिएको हो। हाल करारमा कार्यरत कर्मचारीहरूको हकमा भने अर्को निर्णय नभएसम्मका लागि यथावत् काम गर्न दिइने उल्लेख गरिएको छ।
नयाँ पद सिर्जना हुँदा वा रिक्त दरबन्दी पूर्ति गर्नुपरेमा नयाँ व्यक्ति करारमा नलिई, विभिन्न निकायमा उपलब्ध ‘पूल’मा रहेका कर्मचारीलाई आवश्यकताअनुसार माग गरी खटाउन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, एकीकरण वा खारेज हुने निकायहरूमा आवश्यक न्यूनतम जनशक्ति सम्बन्धित मन्त्रालयले निर्धारण गरी हाल कार्यरत करार कर्मचारीहरूबाटै व्यवस्थापन गर्न भनिएको छ।
करार कर्मचारीको तलब तथा भत्ता भने सम्बन्धित मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालय ले उपलब्ध गराउने व्यवस्था गरिएको छ।





































