काठमाडौं । अमेरिकी सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । एमसीए नेपालले ४०० केभी प्रसारण लाइन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हाे ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि लप्सिफेदी सबस्टेसन, रातमाटे सबस्टेसनदेखि हेटौंडा सबस्टेसन र रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डमा पर्ने नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका जग्गाहरु अधिग्रहण गर्न लागिएको जनाएको छ ।
नुवाकोटका शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा पर्ने जग्गा तथा जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने कार्यालयले जनाएको छ ।
सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने छ ।
एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि भने विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । परियोजना अन्तर्गत चारवटा प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।
एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कूल लागत छ ।
विद्युत् प्रसारणलाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् ।






































