काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बुधबार मिलेनियम च्यालेञ्ज एकाउण्ट- नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए– नेपालले स्वागत गरेको छ,’ उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल कम्प्याक्टलाई निरन्तरता दिने आशय व्यक्त गरेको थियो ।
एमसीसी कम्प्याक्टको कार्यान्वयन गरिरहेको एमसिए–नेपालले हालसम्म तीनवटा ४०० केभीका विद्युत् सबस्टेसन तथा १८ किलोमिटर ४०० केभी प्रसारण लाइनको ठेक्का लगाइसकेको छ । बाँकी २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको एमसीए नेपालले जनाएको छ।
एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको पनि जनाएको छ ।
‘नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ । यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ,’ एमसीए–नेपालले उल्लेख गरेको छ ।


































