काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरी काम अघि बढाइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौंलगायतका क्षेत्रमा विद्युत् आपूर्ति नियमित राख्नसमेत आवश्यक व्यवस्थापन भइरहेको छ। विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको उनले बताएका छन्।
बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा तत्काल विद्युत् सेवा उपलब्ध गराउन सौर्य ऊर्जा प्रविधिको प्रयोग गर्ने गरी आवश्यक संयन्त्रसमेत परिचालन गरिएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन्।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई लामो समयसम्म विद्युत् सेवाबाट वञ्चित हुन नदिन उपलब्ध सबै विकल्पको अधिकतम उपयोग गरी सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ।
प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित नभएसम्म आवश्यक समन्वय र जनशक्ति तथा स्रोतसाधनको परिचालनलाई निरन्तरता दिइने मन्त्री श्रेष्ठले बताएका छन्।


































