काठमाडौं । बाढीबाट प्रभावित चार जिल्लामा सरकारले नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा संलग्न निकायबीच समन्वय सहज बनाउन टेलिकमको सञ्चार सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन निजी हेलिकप्टरको प्रयोगमा पनि सहज व्यवस्था गरिएको छ। राहत, उद्धार तथा खोजी कार्यका लागि परिचालन हुने निजी हेलिकप्टरलाई छुट्टै अनुमति लिनुपर्ने व्यवस्था हटाइएको मन्त्रालयले जनाएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिँदै सञ्चार र हवाई सेवामा आवश्यक सहजीकरण गरेको हो।


































