काठमाडौं । चिनो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बुद्धनगरस्थित कम्पनीको कार्यालयमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गरिनेछ। उक्त प्रस्ताव पारित भएपछि कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ।
यसैगरी, सभामा सञ्चालक समितिको प्रतिवेदन र गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ।






































