काठमाडौं । सरकारले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
यी दुई आयोजनाको कुल लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ रहेको छ । दुवै आयोजनाको कुल उत्पादन क्षमता १०५.६२ मेगावाट हुनेछ ।
अरुण–३ ले २०२८ फेब्रुअरीसम्म उत्पादन गर्ने लक्ष्य
लगानी बोर्डको बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यअनुसार अघि बढ्ने निर्णय गरेको छ ।
त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य परियोजना विकास सम्झौतामा भएका प्रावधानअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यी दुवै आयोजना नेपालको ऊर्जा उत्पादन क्षमता विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । निर्धारित समयसीमाभित्र आयोजना कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने विषयलाई बोर्डले प्राथमिकतामा राखेको छ ।
लगानीकर्तालाई सेवा दिन प्रमुख कार्यकारी अधिकृतलाई अधिकार
बैठकले स्वीकृत आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्तालाई प्रदान गरिने सेवा सहज बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
यस व्यवस्थाबाट आयोजना कार्यान्वयनमा देखिने प्रशासनिक जटिलता कम गर्न र लगानीसम्बन्धी कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वीस च्यालेन्जबाट लगानी प्रस्ताव अघि बढाइने
बोर्डले आफैँले प्रस्ताव आह्वान नगरेका परियोजनाका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
यस विधिमार्फत योग्य प्रस्तावबीच प्रतिस्पर्धा गराई उपयुक्त लगानीकर्ता छनोट गर्ने प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको छ ।
कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वाधारलाई प्राथमिकता
बैठकले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनामा लगानी प्रस्ताव प्राप्त भएमा प्राथमिकताका साथ अघि बढाउने निर्णयसमेत गरेको छ ।
यस्ता परियोजनाले नेपालको नवीकरणीय ऊर्जाको उपयोग बढाउने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक विकासमा योगदान पुर्याउने सम्भावनालाई ध्यानमा राखेर परियोजना विकासलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ ।
ऊर्जा उत्पादन, ठूला पूर्वाधार निर्माण र नवीनतम प्रविधिमा आधारित लगानीलाई प्रोत्साहन गर्ने निर्णयले नेपालमा स्वदेशी तथा विदेशी लगानी विस्तारका लागि थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।



































