काठमाडौं । सुनसरीमा २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण हुने भएको छ। पशुपति इनर्जी प्रालिले अघि बढाएको उक्त आयोजनाका लागि माछापुच्छ्रे बैंकले वित्तीय व्यवस्थापन पूरा गरेको छ।
कोशी प्रदेशको सुनसरीमा निर्माण हुने ग्रिड–आबद्ध सौर्य आयोजनामा बैंकले एकल रूपमा लगानी गर्ने भएको हो। बैंकले आयोजनाको कुल लागतको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सहयोग गर्नेछ।
आयोजना निर्माण सम्पन्न गर्न १ वर्ष ६ महिनाको अवधि तोकिएको छ। आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा नवीकरणीय तथा स्वच्छ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय लगानी गर्दै आएको जनाएको छ। सुनसरीको आयोजनामा गरिएको लगानी पनि नवीकरणीय ऊर्जा क्षेत्रमा बैंकको लगानी विस्तार गर्ने निरन्तर प्रयासको हिस्सा भएको बैंकको भनाइ छ।
































