काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा बढाउन सफल भएको छ। कम्पनीले असोज मसान्तसम्म ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२५ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड २३ लाख ७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ८ करोड ४७ लाख १३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले समीक्षा अवधिमा ६ करोड ९९ लाख ७२ हजार रुपैयाँ कुल नाफा कमाएको छ। त्यस्तै, सञ्चालन नाफा ६ करोड ८३ लाख ७१ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको वित्तीय खर्च ४६ लाख ७० हजार रुपैयाँ छ।
असोज मसान्तसम्म कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भ तथा सञ्चित कोषमा ९ करोड २५ लाख ५४ हजार रुपैयाँ रहेको छ भने कुल इक्विटी ८९ करोड २५ लाख ५४ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले आफ्नो दीर्घकालीन कर्जा पनि घटाएको छ। गत आर्थिक वर्षको अन्त्यमा २९ करोड २९ लाख रुपैयाँ रहेको दीर्घकालीन कर्जा घटेर समीक्षा अवधिमा २६ करोड ३९ लाख ८१ हजार रुपैयाँ कायम भएको छ।
नाफा वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत सुधार देखिएको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी गत वर्षको पहिलो त्रैमासमा २८.१२ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ३१.८५ रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.४१ गुणा रहेको छ। त्यस्तै, कम्पनीको चालु अनुपात २.२२ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

































