काठमाडौँ । सुपरमाई हाइड्रोपावरको शेयर भाउ हाइड्रोपावर समूहको छैटौं महँगो कायम भएको छ । आइतबार यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य ८७८.७५ रुपैयाँमा बन्द भएको हो ।
हाइड्रोपावर समूहको सबैभन्दा महँगो शेयर कुथेली बुखरीको रहेको छ भने सुपरमाईको शेयर भाउ छैटौं स्थानमा छ ।
सुपरमाईलाई जलविद्युत क्षेत्रलाई विकास गर्ने उद्देश्यले स्थापना गरिएको हो । यसलाई विभिन्न क्षेत्रका अनुभवी, स्थानीय तथा सफल व्यवसायीहरुको टोलीले व्यवस्थापन गरेको छ ।
टोलीमा जलविद्युत विकासकर्ता, व्यवस्थापन, वित्तीय परामर्शदाता, इन्जिनियरिङ, शिक्षा तथा सार्वजनिक मामिलामा दक्ष व्यक्तिहरु संलग्न रहेका सुपरमाईले जनाएको छ । यसलाई जलविद्युत, वित्तीय तथा औद्योगिक क्षेत्रमा अग्रणी व्यक्तिहरुले प्रवर्द्धन गरेका हुन् ।
यस हाइड्रोपावरको स्थापना वि.सं. २०७१ मा भएको हो । कम्पनीले आफ्नो लक्ष्य विभिन्न स्रोतबाट मुख्यतया जलविद्युत मार्फत ऊर्जा उत्पादन तथा आपूर्ति गर्नु रहेको जनाएको छ । यस उद्देश्य प्राप्तिका लागि कम्पनीले मुलुकभित्र उपलब्ध वित्तीय र प्राविधिक क्षमता परिचालन गरी निरन्तर नयाँ–नयाँ आयोजना निर्माण गर्दै देशको ऊर्जा आवश्यकता पूरा गर्ने र लगानीकर्तालाई आकर्षक प्रतिफल सुनिश्चित गर्ने परिकल्पना गरेको छ ।
कम्पनीको पहिलो आयोजना सुपरमाई हाइड्रोपावर प्रोजेक्ट (७.८ मेगावाट) हो । सो आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ ।
कम्पनीले जलविद्युत आयोजनाबाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप सुपरमाई जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको उर्जा मन्त्रालयबाट २०७३ फागुन ३० गते विद्युत उत्पादनको अनुमति पाएको थियो । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०७५ कार्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ ।
वित्तीय विवरण कस्तो छ ?
सुपरमाईले गत वर्षको असारसम्म ७ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७ करोड ३ लाख नाफा कमाएको थियो । यता, कम्पनीले १२ महिनामा १९ करोड ८६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।
अन्य आम्दानी १ करोड ११ लाख रहेको छ । वित्तीय खर्च ७ करोड ८५ लाखबाट घटेर ५ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । जगेडा कोषमा १२ करोड ९२ लाख रुपैयाँ छ । अघिल्लो वर्ष उक्त कोषमा १२ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
सुपरमाईको चुक्ता पूँजी २०७८-७९ मा ४० करोड रुपैयाँ थियो । आइपीओ बिक्रीपछि पूँजी ५० करोड पुगेको हो । त्यसपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर वितरण गरेको थियो ।
बोनस शेयर वितरण पछि कम्पनीको पूँजी ५३ करोड ५० लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको प्रतिशेयर आम्दानी १३.१५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२४.१७ रुपैयाँ छ ।
त्यसैगरी, यस हाइड्रोपावरको दीर्घकालिन कर्जा ६८ करोड ९७ लाख रहेको छ । कम्पनीले प्रत्येक वर्ष कर्जा घटाउँदै आएको छ । समग्रमा हेर्दा सुपरमाईको वित्तीय अवस्था सन्तोषजन नै देखिन्छ । लाभांश क्षमतापनि उच्च रहेको देखिन्छ ।
र, संस्थाले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने सम्भावना पनि उच्च छ । कम्पनीको जगेडा कोषको आधार मानेर हेर्ने हो भने कम्पनीको लाभांश क्षमता करिब २५ प्रतिशत छ । तर, कम्पनीले उक्त सबै पैसा लाभांश वितरणका लागि भने प्रयोग गर्दैन ।
यस कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.१५ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ बाट ११.५० प्रतिशत र अघिल्लो वर्षको नाफाबाट १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । सुपरमाईले ७ प्रतिशत बोनस र कर सहित ५.६३ प्रतिशत नगद लाभांश दिएको हो ।

कम्पनीले अब अगामी दिनमा थप हाइड्रोपावर परियोजनामा लगानी गर्ने तयारी गरेको छ । हाइड्रोपावर कम्पनीहरुले खासै एउटै मात्र आयोजनामा लगानी गर्दैनन् । धेरै कम्पनीहरुको लगानी अरु परियोजना पनि हुन्छ ।
नेपालमा जलविद्युत योजनाले २५ देखि ३० वर्षसम्म सञ्चालन गर्ने अधिकार पाउँछन् । तर त्यस अवधि पूरा भएपछि उक्त आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था हुन्छ । यही कारणले गर्दा जलविद्युत कम्पनीहरुले एउटै आयोजना मात्रमा निर्भर नरही विभिन्न परियोजनामा लगानी गर्ने रणनीति अपनाएका हुन्छन् ।
त्यसैले सुपरमाईले पनि थप योजना बढाउने तयारी गरेको हो । यसले आम्दानी पनि बढ्छ र शेयरधनीले पाउने लाभांश दरमा पनि वृद्धि हुन्छ ।


































