काठमाडौँ । फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्ना आईपीटीभी (NTTV) ग्राहकहरूका लागि विशेष टिभी प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले उच्च गुणस्तरीय डिजिटल प्रविधिमार्फत विश्वकपको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यसहित यो योजना ल्याएको हो।
नयाँ योजनाअनुसार ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा विश्वकपका सबै खेलहरू लाइभ हेर्न सक्नेछन्। उक्त प्याकेजमार्फत एनटीटीभी प्रयोगकर्ताले घरमै बसेर विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउने व्यवस्था गरिएको छ।
प्याकेज सक्रिय गर्ने प्रक्रिया पनि सरल रहेको कम्पनीले जनाएको छ। ग्राहकहरूले आफ्नो टिभीमा हिमालय स्पोर्ट्स च्यानल चयन गर्नुपर्नेछ। त्यसपछि स्क्रिनमा देखिने निर्देशनअनुसार आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रविष्ट गर्नुपर्छ। सो नम्बरमा आउने OTP मार्फत प्रमाणीकरण भएपछि मोबाइल ब्यालेन्सबाट शुल्क कट्टा भई सेवा सक्रिय हुनेछ।
ग्राहकहरूले नेपाल टेलिकमका ग्राहक सेवा केन्द्रमार्फत पनि यो सेवा लिन सक्नेछन्।
यसैबीच, नेपाल टेलिकमले एफटीटीएच ग्राहकहरूका लागि थप सुविधा पनि घोषणा गरेको छ। आगामी असार ३ गतेसम्म १०० Mbps वा सोभन्दा बढी गति भएको वार्षिक इन्टरनेट र प्रिमियम आईपीटीभी प्याकेज लिने वा नवीकरण गर्ने ग्राहकले विश्वकप प्याकेज निःशुल्क प्राप्त गर्नेछन्।
यो अफर नयाँ जडान गर्ने, नवीकरण गर्ने तथा कम स्पिडबाट उच्च स्पिड प्याकेजमा अपग्रेड गर्ने ग्राहकहरूका लागि लागू हुने कम्पनीले जनाएको छ।
































