विशेष गरी दशैंलाई हामी मीठो मसिनो खाने पर्वको रुपमा चिन्छौँ। हुन त अहिले मीठो मसिनो खानका लागि दशैं नै कुर्नुपर्ने अवस्था त छैन, यद्यपी इष्टमित्र, आफन्त, परिवारजन एकसाथ भेला भएर विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दशैंको विशेष महत्त्व छ ।त्यसैले दशैंको खानपान विशेष हुने गर्छ । यो समयमा मासुजन्य कुरा नै बढी खपत हुन्छ । त्योसंगै मदिराको खपत पनि निकै हुन्छ ।
दशैंको परिकारमा रमाउनेहरुले सतर्क भने हुनै पर्छ । अनियन्त्रित भोजन गर्दा पाचन यन्त्रमा समस्या हुनसक्छ ।त्यो समस्यालाई आउनै नदिन यसो गर्न सकिन्छ ।
सलादको प्रयोग
दशैंमा आफन्तकहाँ पाहुना जाने, खाने प्रचलन छ । यसरी हरेककहाँ गएर खाँदा अपच हुनसक्छ । शरीरलाई आवश्यकभन्दा बढी भोजन ग्रहण गर्न सकिन्छ । यसबाट जोगिनका लागि खानामा सलादको मात्रा बढाउनुपर्छ । सलाद सेवन गरेपछि अन्य खानेकुरा धेरै खान सकिँदैन ।
मदिरा सेवन गर्नुअघि पानी
दशैंको बेला सबैको जमघट हुने र रमाइलोका लागि मदिरा सेवन गर्ने आम प्रचलन छ । फेरी खानाका भेराइटी पनि हुने र सिङ्गै खसिबोका धरमै काटने वा बलिदिने प्रचलनले मासु प्रशस्तै हुन्छ । मासु र मदिरालाइ पर्यायवाची नै मानिन्छ । मासु पाक्दा मदिराको तलतल सबैमा बढछ तसर्थ मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।
शारीरिक सक्रियता
अक्सर दशैंमा मीठो मसिनो खएपनि त्यस अनुरुप व्यायाम गरिँदैन । अन्य काम पनि गरिँदैन । बरु घन्टौँ बसेर तास खेल्ने गरिन्छ । अन्य दिनमा व्यायाम गर्ने, मर्निङवाक जाने गरे पनि दशैंमा यस्ता गतिविधिहरु छुट्छन् । जसले गर्दा खाएको कुरा पचाउन सकिँदैन । त्यसले अपच हुने त छदैछ, शरीरमा अतिरिक्त बोसो जम्ने खतरा पनि रहन्छ । त्यसैले दशैंको बिदामा पनि शारीरिक गतिविधिमा जोड दिनुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ ।
हामी एकसाथ धेरै परिकार बनाएर सेवन गछौ, बिशेषत दशैंमा । माछा मासु, दुध दही, मिठाई, फलफूल सेवन गर्छौ । यी सबै परिकारमा आ९आफ्नै पौष्टिक तत्त्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपी सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रसायनिक प्रतिक्रिया हुन्छ । फलत हामीलाई फुड पोइजन हुनसक्छ । कति खानेकुराहरु आपसमा मिल्दैन । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।
दही र फल
हामी दही र फल एकसाथ सेवन गर्छौ। अझ दही र फल एकसाथ मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । यसले पाचन क्रियालाई असर गर्छ ।
कागती र दुध
कागती र दुध आफैमा फाइदाजनक मानिन्छ । यद्यपी दुध र कागती एकसाथ मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पेटमा समस्या पैदा गर्छ ।
पनिर र कार्बोहाइड्रेट
पनिर, मासु, अन्डा, नट्स जस्ता प्रोटिनयुक्त खानेकुरा संग ब्रेड, आलु, दाल जस्ता कार्बोहाइड्रेट सेवन गर्नु हुँदैन । यसले गर्दा भोजन पचाउन गाह्रो हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट एकसाथ सेवन गर्दा कब्जियत पनि हुनसक्छ ।
दुध र दही
दही र दुध एकसाथ सेवन गर्दा एसिडिटी, ग्यास्ट्रिक, अपच र वान्ता जस्ता समस्या हुनसक्छ । यी सबै कुरामा ध्यान दिएमा तपाईको दशै स्वस्थ र रमाइलो बन्नेछ।


































