काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा व्यापार, ऊर्जा, लगानी, पारवहन र पूर्वाधारलगायतका विषयलाई प्राथमिकता दिइने भएको छ।
प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतमा रहनेछन्। उनी आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् भने सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।
भ्रमण टोलीमा ३४ सदस्य रहनेछन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार र विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। यस्तै, निजी क्षेत्रका ५२ व्यवसायी पनि आफ्नै खर्चमा भारत जानेछन्।
प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ। वार्तापछि संयुक्त पत्रकार सम्मेलन र मोदीले आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता हुनेछ। प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। साथै, ऊर्जा सहकार्य र सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ।
नेपाल–भारत बिजनेस फोरममा भारतीय व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा लगानीका अवसर, सरकारी नीतिहरू र लगानी विस्तारका विषयमा जानकारी गराउनेछन्। दुई देशबीच शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत छ।
भ्रमणबाट फर्किएपछि मंसिर ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका विषयवस्तु तथा उपलब्धिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कार्यक्रम छ।


































