काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। निक्षेप बढिरहेको बेला कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता थुप्रिएको हो ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले सोमबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो। राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो।
निक्षेप संकलन खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बैंक वित्तीय संस्थाहरूको एसडीएफ र निक्षेप संकलन उपकरणमा गरेको २ खर्ब ७६ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम राष्ट्र बैंकका अल्पकालीन उपकरणहरूमा लगानी गरेका हुन् ।
































