काठमाडौं । अधिक तरलता थपिएसँगै नेपाल राष्ट्र बैंकले आज बुधवारका दिन बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले पुस लागेपछि यो पाँचौँ पटक तरलता खिच्न लागेको हो ।
२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले माघ ९ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।
बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण गरिने छ । थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेपलाई बैंकले प्राथमिकता दिने गर्दछ ।






























