काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (माघ ७ गते) २० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम बजारबाट उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजे निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ। बैंक तथा वित्तीय संस्थाले एकभन्दा बढी ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।
यो ६३ दिने अवधिको निक्षेप संकलन उपकरणमार्फत संकलित रकमको साँवा तथा ब्याज आगामी चैत ११ गते एकमुष्ट भुक्तानी गरिनेछ। राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि बजारको ब्याजदर स्थिर राख्न तथा मौद्रिक व्यवस्थापनलाई सन्तुलित बनाउन यस्ता उपकरण प्रयोग गर्दै आएको छ।




































