काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको उपलब्धता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले ३० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणका लागि असोज १२ गते दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ। बोलकबोल ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत अनलाइनबाट मात्रै हुनेछ।
३० दिन अवधिको उपकरणको साँवा तथा ब्याज कात्तिक ११ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म बोल गर्न सक्नेछन्।
उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने समान ब्याजदर प्रस्ताव गर्ने संस्थाको हकमा प्रो–राटा आधारमा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणमा राखिएको रकमलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। यस्तो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन। वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था छ।
तोकिएको परिपक्वता अवधि अर्थात् कात्तिक ११ गतेअघि उक्त रकम फिर्ता नहुने व्यवस्था गरिएको छ।
बोलपत्र स्वीकृत भएको संस्थाको खातामा निष्कासनका दिन पर्याप्त रकम नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ।































