काठमाडौँ । अधिक तरलता थपिनेक्रम जारी रहेसँगै केन्द्रीय बैंकले आज मंसिर ९ गते बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग मार्फत उक्त रकम खिच्न लागेको हो ।
यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको मंसिर २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


































