काठमाडौं : सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।
आन्तरिक ऋण उठाउनको लागि नेपाल सरकारले राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ । केन्द्रीय बैंकले ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो ।
आज बिहीबार माघ ११ गते दिउँसो २ बजे उक्त विकास ऋणपत्र बोलकबोल गरिने उक्त सूचनामा उल्लेख गरिएको छ। यसको निष्कासन मिति भने माघ १२ गते तोकिएको छ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ। बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।
































